प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रकै समूहको खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताएका छन्।
बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टी भित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन्।
उनले भने ‘किन संसद विघटन गर्नुपर्यो, अरु थुप्रै कुरा छोडिदिनुस्। यहीं किचकिच, यहीं झमेला, पार्टीभित्र सधैं हिंड्न खोज्यो खुट्टा समाउने, हिंड्न खोज्यो अल्झाउने, हिंड्न खोज्यो धराप थाप्ने, देश हाँक्नुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने।’
ओलीले संसद विघटनपछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको आरोप लगाए। सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको उनको भनाइ छ।