नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहले प्रचण्डलाई दिएको कार्यकारी जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष प्रचण्डको कार्यकारी जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । यद्धपी अध्यक्ष पद भने यथावत छ ।
ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज भएको बताए ।
बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । प्रचण्ड – माधव पक्षका प्रदेश इञ्चार्जलाई हटाएर आफ्नो पक्षका नेतालाई नयाँ इञ्चार्ज तोकेको छ ।
बैठकले प्रदेश नम्बर १ मा सुभाषचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इञ्चार्जको जिम्मेवारी दिएको छ ।
यस अघि प्रदेश १ काे इञ्चार्जमा प्रचण्ड माधव समूहमा भीम आचार्य, प्रदेश ३ मा अष्टलक्षमी शाक्य, कर्णाली प्रदेशमा जनार्दन शर्मा र सुदुरपश्चिम प्रदेश इञ्चार्जबाट भीम रावल थिए ।
जनसङ्गठनको संयोजन गर्ने जिम्मा टोपबहादुर रायमाझी र उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको महासचिव पौडेलले बताए ।