फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले थोमस टुकललाई प्रशिक्षकबाट बर्खास्त गरेको छ।
सन् २०१८ मा पिएसजीको प्रशिक्षक नियुक्त भएका उनले क्लबलाई दुई लिग उपाधि जिताएका थिए भने एक फ्रेञ्च कप र फ्रेञ्च लिग कपको च्याम्पियन बनाए।
पिएसजी गत सिजनको युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। फाइनलमा पिएसजीलाई जर्मन क्लब वायर्न म्युनिखले १-० गोलले पराजित गरेको थियो।
जारी सिजनमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको पिएसजी अंक तालिकामा तेस्रो स्थानमा छ। तेस्रो स्थानमा भए पनि पिएसजीले शीर्ष स्थानको लियोन भन्दा एक अंक मात्र कम जोडेको छ।
बुधबार स्ट्रार्सवर्गविरुद्ध पिएसजीले ४-० को जित हात पारेको केही घन्टामै टुकललाई प्रशिक्षकबाट हटाइएको हो।
जर्मन क्लब बोरूसिया डर्टमन्डका पूर्व प्रशिक्षक टुकल र पिएसजीबीच यहि सिजनको अन्त्यबाट सम्झौता सकिँदै थियो।
टुकल बर्खास्तमा परेसँगै टोटेनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोको नाम पिएसजीसँग जोडिएको छ।
४८ वर्षीय पोचेटिनो सन् २०१९ मा टोटेनहम छाडेपछि कुनै टिममा आबद्ध भएका छैनन्।