गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राजनेता भएको दाबी गरेका छन्। ओली पक्षीय नेकपाको काठमाडौंमा भएको प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले ओलीलाई विश्वास गर्न आग्रह समेत गरे।
नेकपा अध्यक्ष ओलीले मंगलबार विस्तार गरेको केन्द्रीय कमिटी सदस्यलाई काठमाडौं बोलाएर बुधबार प्रदेशगत प्रशिक्षण दिएको थियो। प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले भने, ‘सुखी नेपाली, समृद्ध नेपालको स्पष्ट नीति, खाका र दृष्टिकोणका साथ अगाडि बढेको राजनेता केपी शर्मा ओली हो, उहाँप्रति उच्च विश्वासका साथ लागौं।’
मुख्यमन्त्री गुरुङले निर्वाचन हुनेमा आशंका नगर्न समेत आग्रह गरे। निर्वाचनमा आफूहरूको विजयलाई कसैले रोक्न नसक्ने उनले दाबी गरे।