न सर्टिफिकेट, न विद्यालय : २६ वर्षदेखि अध्यापन मै सक्रिय जीवछ मास्टर !

२०४७ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि भारतको एउटा कलेजमा भर्ना भएका उनले २०५० सालमा आइएससी पास गरे । त्यसपछि उनलाई ‘मास्टरी गर्ने’ (पढाउने) रहर जाग्यो । शिक्षकका रुपमा काम गर्न गाउँकै साथीसँग उनी कालीकोट जान तयार पनि भए तर उनकी आमाले चेतावनी दिइन्– उत्तरमा महेन्द्र राजमार्ग र दक्षिणमा भारतसँगको बोर्डर कट्यौं भने तिमीले मेरो मृत मुख देख्नेछौँ ।

आमाको यस्तो चेतावनीलाई कुन छोराले बेवास्ता गर्न सक्ला र ? आमाको बचनको बन्धनमा बाँधिएका उनी मास्टरीका लागि न कालिकोट गए, न त आइएससीको सर्टिफिकेट ल्याउन भारत नै गए । तर कालीकोट नगए पनि, आइएससीको सर्टिफिकेट नल्याए पनि उनले आफ्नो इच्छा पूरा गरेरै छाडे । आफ्नै गाउँमा अहिले उनी जीवछ मास्टरको नामले चिनिन्छन् ।

उनी अर्थात्, सिरहाको औरही गाउँपालिका निवासी ४७ वर्षीय जीवछ यादवले परिबन्धका कारण सरकारी तथा निजी स्कूलको मास्टर हुन नसके पनि घरमै २०५१ सालदेखि ट्युसन पढाएर शिक्षक हुने धोको पूरा गरेका छन् । यतिमात्र होइन, ट्युसन शिक्षकका रुपमा उनी जिल्लामै नमुना बन्न सफल भएका छन् ।

जीवछ मास्टरले आफ्नो गाउँमा विगत २६ वर्षदेखि बालबालिकालाई ट्युसन पढाउँदै आएका छन् । शिक्षण पेसामा उनको रुची बढ्नुको कारण आय आर्जनका लागि नभइ शिक्षाको ज्योति छर्नका लागि केन्द्रित थियो । त्यसैले उनी पैसाका लागिमात्र नभइ गाउँघरका सबै बालबालिका शिक्षित बनुन् भनेर ट्युसन पढाउने गर्दछन् । पैसा कमाउनकै लागि त उनले अन्य थुप्रै विकल्प रोज्न सक्थे ।

त्यतिबेला स्कुल तथा कलेजहरुमा विज्ञान र गणित विषय पढाउन मधेसी मुलका शिक्षक अब्बल मानिन्थे । त्यसैले पहाडतिर पनि ती विषय पढाउन मधेशी मूलका शिक्षक खोजी खोजी लैजाने गरिन्थ्यो । पहाडतिरका विद्यालयमा पढाउने गरेका मधेसी मुलका शिक्षक बिदामा घर आउँदा गाउँघरका शिक्षित युवालाई आफूसँगै लैजाने र शिक्षक बनाइदिने गर्दथे । यस्तो अवसर पाएर पनि जीवछ यादवले आमाको बचन काट्न नसकेर विद्यालय शिक्षकका रुपमा काम गर्न पाएनन् । तर आफ्नो रहर पूरा गर्न उनले घरमै ट्युसन पढाउन सुरु गरे, जससलाई उनले हालसम्म निरन्तरता दिइरहेका छन् ।

उनको ट्युसनमा ३०/३५ जनाभन्दा कम विद्यार्थी कहिल्यै हुँदैनन् । उनी भन्छन्, ‘मैले ट्युसन सुरुवात गर्दा ५० जनाभन्दा बढी विद्यार्थी पढ्न आउँथे तर अहिले जताततै ट्युसन सेन्टरहरु खुलेका कारण विद्यार्थी अलि कम भएका छन्, तैपनि ३५ जना विद्यार्थी अहिले पनि छन् । अगहन महिना (धान काट्ने समय) भएका कारण गरिब परिवारका केही विद्यार्थीहरु पढ्नका लागि बिहान आउँदैनन् ।’

उनले सुरुमा प्रत्येक विद्यार्थीबाट महिनाको पाँच रुपैयाँमात्र लिन्थे । अहिले एउटा विद्यार्थीसँग उनले महिनाको एक सयदेखि डेढ सय रुपैयाँमात्र लिन्छन् । त्यो पनि बाध्यकारी छैन । दिन मन लाग्नेले दिएका छन्, आर्थिक अवस्था कमजोर भएकाहरुले त्यो पनि दिन सक्दैनन्, तर कसैसँग कर गरेर उनले शुल्क लिएका छैनन् । उनले भने, ‘आजसम्म मैले कसैसँग कर गरेर पैसा मागेको छैन, अभिभावकलाई इच्छा लाग्यो भने दिन्छन्, लागेन भने दिँदैनन् । पैसाकै कारण कसैले पढाई छोडोस् भन्ने चाहन्नँ ।’

त्यसो त, कतिपय मानिस धन नभए पनि आफ्नो स्वाभिमानमा आँच नआओस् भन्ने चाहन्छन् । दुई÷तीन महिनापछि कुनै उपाय लगाएर ट्युसन शुल्न तिरौँला भनेर आफ्ना छोराछोरीलाई पढ्न पठाइरहेका अभिभावकहरुले व्यवहारिक कठिनाइका कारण ८/१० महिनासम्म पनि शुल्क तिर्न नसकेपछि छोराछोरीलाई ट्युसन पढ्न पठाउन असजिलो मान्छन् र पढाइ छुटाउँछन् । त्यतिबेला जीवछ यादव आफै त्यस्ता विद्यार्थीको घरमा पुगेर अभिभावकलाई पैसाका कारण बालबालिकाको पढाइ नछुटाउन आग्रह गर्छन् ।

उनले दैनिक बिहान र बेलुका गरी दुई सिफ्टमा ट्युसन पढाउँछन् । सुरुमा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई उनले पढाउँथे तर अहिले पाठ्यक्रमहरु परिमार्जन भएर आएका कारण माथिल्लो कक्षाका विद्यार्थीलाई पढाउन गाह्रो हुन्छ भनेर उनी ८ कक्षासम्मका विद्यार्थीलाई मात्र पढाउँछन् । ७/८ कक्षाका म्याथ र अंग्रेजीमा कहिलेकाहीँ गाह्रो हुने गरे पनि त्यस्तो अवस्थामा आफूले कसैबाट सहयोग लिने गरेको उनले सुनाए । ‘विद्यार्थीलाई पढाउनु अघि म आफै तयारी गर्छु अनि विद्यार्थीलाई पढाउँछु,’ उनले भने ।

कसरी मास्टर ?

जीवछ यादव परिवारमा एक्ला छोरा थिए । उनीभन्दा माथिका ५/६ सन्तानलाई उनका आमाबुवाले गुमाइसकेका थिए । गर्भमै कसैको मृत्यु हुन्थ्यो भने केहीले जन्मिएको छोटो समयमै मृत्युवरण गरे । त्यसैले पनि आमाले जीवछ यादवलाई आँखाबाट टाढा नरहोस् भन्ने चाहेकी थिइन् । शिक्षक बन्ने लहडमा कालीकोट जाने तयारी गरेका उनलाई आमाले घर छाडेर नजान दबाब दिनु पछाडिको रहस्य पनि यही नै थियो । त्यसपछि उनले घरमै ट्युसन पढाउन सुरु गरेका थिए ।

सुरुमा पाँचजना विद्यार्थीबाट ट्युसनमा थालेका उनले विद्यार्थीको संख्या बढ्दै गएपछि हौसला पनि बढ्यो । त्यसपछि उनी गाउँभरी ‘जीवछ मास्टर’ का रुपमा चिनिन थाले । त्यतिमात्र होइन, विद्यार्थीहरुले उनलाई बाटोमा कतै देख्ने बित्तिकै नमस्कार गर्थे, गाउँका मानिसहरुले पनि सम्मानित नजरले हेर्न थाले । यसले उनलाई मास्टरका रुपमा गर्वको अनुभूति हुन्थ्यो ।

उनले जस्तोसुकै अवस्थामा ट्युसन पढाउन छोडेनन् । सुरुमा उनलाई ठाउँको अभावले निकै पिरोलेको थियो । उनले आफ्नो भन्छाघरदेखि सुत्ने कोठासम्ममा विद्यार्थीलाई राखेर पढाउने गर्थे त्यतिबेला ।

दुई÷चारजना विद्यार्थी भए पो कतै राखेर पढाउन सकिन्थ्यो ! ५० जना विद्यार्थीलाई एक ठाउँमा राखेर पढाउनु सजिलो थिएन । कहिले कसको घरमा त कहिले कसको घरमा लगेर पनि उनले विद्यार्थीलाई पढाउने गर्थे । कहिले मन्दिर परिसरमा, कहिले बाटो छेउमै राखेर पनि उनले पढाए । अहिले उनले एउटा सार्वजनिक भवन पाएका छन्, त्यसमै राखेर उनले सबै विद्यार्थीलाई पढाउने गर्दछन् ।

स्कूल खोल्ने चाहना

सानोतिनो बोर्डिङ स्कूलमा ५० जना विद्यार्थी हुँदा सञ्चालक खुशी हुन्छन् । जीवछ यादवसँग ५० जनाभन्दा विद्यार्थी जहिल्यै हुन्छन् । एकपटक उनलाई गाउँका केही युवासँग मिलेर नेपाली मेडियममा स्कुल खोलेर दिनभर पढाउने रहर जागेको थियो । त्यसका लागि केही युवासँग उनले कुराकानी पनि गरे । तर ती युवाले त्यसमा फाइदा नदेखेर उनलाई साथ दिएनन् । जीवछ यादवको चाहना स्कूल खोले पनि अन्य स्कूलभन्दा सस्तोमा पढाउने थियो, त्यसमा कसैले साथ नदिएपछि उनले ट्युसनलाई नै निरन्तरता दिए ।

विभिन्न कक्षाका विद्यार्थी, त्यसमा पनि यति ठुलो संख्यामा एकसाथ पढाउन सहज पक्कै पनि हुँदैन । उनले कुनै विषयवस्तुलाई समूहमै पढाउने गरेका छन् । कसैलाई कुनै समस्या भयो भने उनले व्यक्तिगत रुपमा पनि बुझाउने गरेका छन् ।

उनका बुबा नन्दीलाल यादवको निधन भइसकेको छ भने आमाको साथ अझै पाइरहेका छन् । खेतीपातीबाट घरपरिवारको गुजारा आनन्दले भइरहेको उनी बताउँछन् । ट्युसनबाट आउने दुई÷चार हजार रुपैयाँले नुनतेल चल्ने गरेको उनले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *