नेपालीका लागि सबैभन्दा उपयुक्त मानिएको अक्सफोर्डको भ्याक्सिन ट्रायलमै गम्भीर गल्ती !

काठमाडौं। कोरोनाभाइरसविरुद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिनको ट्रायलमै गम्भीर गल्ती भएको खुलासा भएको छ । यससँगै यो भ्याक्सिनले तत्काल स्वीकृति पाउने सम्भावना टरेको छ । ट्रायलका क्रममै त्रुटि भएको पाइएपछि विशेषज्ञहरुले यो भ्याक्सिनको विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन् । यससँगै यो भ्याक्सिनले स्वीकृति पाउन अझै लामो समय प्रतिक्षा गर्नुपर्ने देखिएको छ ।

अक्सफोर्डको यो भ्याक्सिन नेपालीका लागि सबैभन्दा सुलभ र उपयुक्त मानिएको थियो किनकि यसको ट्रायल भारतमा भइरहेको छ र भारतकै एक ठूलो फार्मास्युटिकल कम्पनीले यसको उत्पादन गरिरहेको छ । नेपालका लागि औषधिजन्य पदार्थहरु मात्र नभइ लगभग सबैजसो आयातको प्रमुख बाटो भारत हो । भारतमा रहेको विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी (उत्पादन परिमाणका आधारमा) सिरम इन्स्टिच्युटले अक्सफोर्डको भ्याक्सिन उत्पादन गरिरहेको हुँदा त्यहाँबाट यो भ्याक्सिन नेपाल ल्याउन तुलनात्मक रुपमा सहज मानिएको थियो ।

नेपालीका लागि यो भ्याक्सिनको मूल्य पनि उपयुक्त थियो । यो भ्याक्सिनको मूल्य अहिलेसम्म फेज ३ ट्रायलको प्रारम्भिक नतिजा आइसकेका अन्य २ कम्पनी बायोएनटेक–फाइजर र मोडर्नाको भन्दा धेरै सस्तो बताइएको थियो । सिरम इन्स्टिच्युटका सीइओ अदर पूनावालाले भारतीय मिडियासँग कुराकानीको क्रममा यो भ्याक्सिनको मूल्य केही सय मात्र पर्ने बताएका थिए । तर, ट्रायलको गल्तीको खुलासासँगै अब यो भ्याक्सिन आउन समय लाग्ने देखिएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार अक्सफोर्डको भ्याक्सिनको फेज–३ ट्रायलको प्रारम्भिक नतिजामा दुई किसिमको प्रभावकारिता देखिएको छ । यो भ्याक्सिन जुन स्वयंसेवकहरुलाई पहिलो पटक आधा डोज र दोस्रो पटक पूरा डोज दिइएको थियो उनीहरुमा ९० प्रतिशत प्रभावकारी देखिएको छ । तर, जुन स्वयंसेवकहरुलाई दुवै पटक पूरा डोज दिइयो उनीहरुमा भने केवल ६२ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । रोचक त के भने ९० प्रतिशत प्रभावकारी देखिने पहिले आधा डोज र दोस्रो पटक पूरा डोज दिने ट्रायल योजनामै थिएन । यो सबै झुक्किएर भएको थियो अर्थात गल्ती थियो ।

अक्सफोर्डको भ्याक्सिनको ट्रायल फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले गरिरहेको छ । उसको योजनामा पहिले आधा र पछि पूरा डोज दिने कुनै योजना थिएन । त्यसैले झुक्किएर यस किसिमको डोज लिनेको संख्या २८०० भन्दा कम थियो । अर्कोतर्फ कम्पनीको योजनाअनुसार दुवै पटक पूरा डोज लिनेको संख्या भने ८ हजार ९ सय छ । तर, दुवै पटक पूरा डोज लिनेहरुमा भने भ्याक्सिनको प्रभावकारिता अत्यन्तै कम देखियो । यससँगै अब यी दुई फरक फरक किसिमका डोज लिनेहरुमा प्रभावकारिता फरक किन देखियो भन्ने प्रश्न उठेको छ जसको जवाफ भ्याक्सिन विकासकर्ताले दिन सकिरहेका छैनन् ।

अर्कोतर्फ पहिले आधा र पछि पूरा डोज लिएका स्वयंसेवकमा भ्याक्सिनको प्रभावकारिता धेरै देखियो भन्दैमा यसलाई मान्यता दिन समेत मिल्दैन किनकि यस्तो डोज लिनेको संख्या अत्यन्तै कम छ । यति कम संख्यालाई भ्याक्सिनको फेज–३ ट्रायलको मापदण्डअनुसारको मान्न सकिँदैन । त्यसमाथि एस्ट्राजेनेकाले अहिलेसम्म दिएको प्रारम्भिक नतिजामा बेलायत र ब्राजिलमा भएका ट्रायलको नतिजा संयुक्त रुपमा देखाएको छ । यी दुई देशमा अलग अलग डिजाइन गरिएका ट्रायलको नतिजालाई जोडेर हेर्नु ट्रायलको निर्धारित मापदण्ड विपरित हो । यसले समेत भ्याक्सिनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

एस्ट्राजेनेकाका रिसर्च एण्ड डेभलपमेन्टका कार्यकारी मेनेलास पेंगालोसले केही दिनअघि कम्पनीले सबै स्वयंसेवकलाई दुवै पटक पूरा डोज दिने योजना बनाएको बताउँदै पहिले आधा र दोस्रो पटक पूरा डोज दिने कुनै योजना नरहेको खुलासा गरे । यसले कम्पनीको संकटलाई झनै बढायो । पहिले आधा र पछि पूरा डोज दिने काम झुक्किएर भएको बताउँदै पेंगालोसले यो गल्तीलाई भने आफ्नो लागि फाइदाजनक भएको बताएका थिए किनकि झुक्किएर डोजमा गडबढी हुँदा राम्रो नतिजा पाइएको थियो ।

बायोस्टेटिशियन तथा युनिभर्सिटी अफ फ्लोरिडाकी भ्याक्सिन ट्रायल डिजाइन विशेषज्ञ नताली डीनले केही दिनअघि ट्वीट गर्दै भनेकी थिइन् ‘मैले बुझ्न सकिरहेकी छैन कि कहाँबाट जानकारीहरु आइरहेका छन् र यिनीहरुलाई कसरी जोडिँदैछ । एस्ट्राजेनेका–अक्सफोर्ड भ्याक्सिन ट्रायलका जो डाटा पेश गरिएका छन् तिनीहरुमा पारदर्शिताको कमी देखिएको छ ।’

अमेरिकाको भ्याक्सिन र औषधिको नियमन गर्ने निकाय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले केही महिनाअघि कुनै पनि भ्याक्सिन ५० प्रतिशतभन्दा बढी प्रभावकारी प्रमाणित भए स्वीकृति दिने बताएको थियो । यो मापदण्डमा भने एस्ट्राजेनेकाको भ्याक्सिन पास भएको छ । तर, एफडिएले यो भ्याक्सिनले आकस्मिक स्वीकृति पाउँछ कि पाउँदैन भन्ने विषयमा कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेको छ । ट्रायलमा गडबडीको जानकारी बाहिरिएसँगै एस्ट्राजेनेकाको शेयरमा पनि ५ प्रतिशतले गिरावट आएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *