भारतीय विदेशसचिवले प्रस्तुत गरे नेपाल–भारत सम्बन्धका चार आधार

काठमाडौं- भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याएका छन्। ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने उनकाे धारणा छ। उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु नेपाल र भारत सम्बन्धका चार खम्बा भएको बताएका हुन्।

उनले भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा नेपालको प्राथमिकताका आधारमा काम गर्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रुपमा भएको पहिलो नेपाल भ्रमणपछि नेपाल भारतबीच बिभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियाशिल भएको उनले बताए।

नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने भारतीय विदेशसचिव श्रृंगलाले बताए। नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका श्रृंगलाले एआईडीआईए नामक संस्थाले आयोजना गरेको संवाद कार्यक्रममा शुक्रबार बिहान सो मन्तव्य दिएका हुन्।

उनले नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात् गर्दै दुई पक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने उनको धारणा थियो।

उनले काठमाडौंमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्नुका साथै आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरेका थिए। ती सबै भेटवार्ताहरुमा भएको कुराकानीमा नेपाल र भारतबीच सम्बन्धबारे समान धारणा रहेको पाउँदा आफू उत्साहित भएको उनले बताए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *