विराटनगर : मोरङमा कोरोना भाइरस संक्रमित दुई जना वृद्ध पुरुषको मृत्यु भएको छ। एक जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो। मोरङको लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि मंसिर ९ गते मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो।
पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा रहेको जानकारी उनले दिए। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको दाहालको भनाइ छ।
त्यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले जानकारी दिए।
उनका अनुसार सामान्य रुघा खोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भए पनि सामान्य अवस्थाका कारण होम आइसोलेसनमै रहेका वृद्धको अचानक स्वास्थ्यमा समस्या देखिएको र उपचारका लागि लैजान नपाउँदै ज्यान गएको राईले बताए। मेयर राईका अनुसार मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो।