३२ लाख मूल्यका १४ वटा आइफोन लिएर डेलिभरी ब्वाय भागे, आफ्नै गल्तीले समातिए

काठमाडौं। एप्पलका सामानहरु बोक्न जो कोहीलाई रहर लाग्छ । यसको अत्याधिक मूल्यका कारण पनि एप्पलका सामानहरु मानिसका लागि शानको कुरा हुने गर्दछन् । तर, अत्याधिक महंगो भएका कारण जो कोहीले यिनीहरु किन्न सक्दैनन् । चीनमा आइफोनका सौखिन एक डेलिभरी ब्यायले भने कम्पनीले ग्राहककहाँ पुर्याउनका लागि जिम्मा दिएका १४ वटा आइफोन १२ प्रो म्याक्स लिएर फरार भए ।

माइड्राइभर्सको एक रिपोर्टअनुसार ती डेलिभरी ब्वायलाई कम्पनीले १४ वटा आइफोन १२ प्रो म्याक्स सेट ग्राहककहाँ पुर्याउने जिम्मा दिएको थियो । तर, उनले भने १ लाख ८० हजार युआन (झण्डै साढे ३२ लाख नेपाली रुपैयाँ) मूल्यका ती आइफोन लिएर भागे । यी डेलिभरी ब्वायले चीनको अनलाइन सपिङ प्लेटफर्म मिटुआन डियानपिंगमा काम गर्थे । उनले सामान्य रुपले अर्डर गरिएको सामान ग्राहककहाँ डेलिभरी गर्नुको सट्टा ग्राहकका अर्डर नै रद्द गरिदिए र आफू सबै आइफोन लिएर भागे ।

जाँच एजेन्सीले सुरुमा उनलाई फेला पार्न असमर्थ थियो । तर, ती युवक आफैंले गल्ती गरे जसका कारण उनी समातिए । उनले आफूले चोरेका १४ वटा फोनमध्ये ४ वटा फोन अन भए । एउटा फोन त उनी आफैंले प्रयोग गर्न थाले । उनको यो गल्ती उनीमाथि नै भारी पर्यो र पुलिसले उनलाई समात्यो । मोवाइल फोन अन भएर कुनै पनि नेटवर्कमा जोटियो भने त्यो डिभाइसबारे थोरै मात्रै जानकारी भए पनि त्यसलाई ट्रयाक गर्न सकिन्छ । बेच्ने कम्पनीसँग त ती डिभाइसको आइएमइआइ नम्बरदेखि सबै विवरण थियो ।

समातिएका डेलिभरी ब्वायले आफूले २ वटा फोन ऋण तिर्नको लागि साथीलाई दिएको बताए । एउटा फोन उनले पसलेलाई ९ हजार ५ सय युआनमा बेचेको बताए । चौथो फोन उनले एक मोवाइल डिलरलाई ७ हजार युआनमा बेचेको बताए । उनले बेचेका यिनै फोनहरु अन भएका थिए । पक्राउ परेपछि उनलाई कुरियर क्षेत्रमा फेरि काम गर्न नपाउने गरी कालो सूचीमा राखिएको छ । उनलाई जेल सजाय हुने सम्भावना छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *