अझै खुल्दैनन् उपत्यकाका विद्यालय

काठमाडौं, ८ मंसिर । कोरोना भाइरसको हटस्पट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्न सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ । मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताउनुभएको छ ।

चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो । मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।

तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताउनुभयो ।

‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छाैँ,’ उहाँको भनाइ थियो । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *