सँगै बसेका श्रीमानको खोजीमा विमला

डडेल्धुरा : तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्। दुर्घटनामा ८ जनाको घट्नास्थलमा र एक किशोरीको उपचारका क्रममा डडेल्धुरा अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन्। तर बस मै यात्रा गरिरहेकी दोगडा केदार गाउँपालिका सित्तड घर भएकी २२ वर्षीया विमला बडु जोशी २ वर्षे बालकसँगै डडेल्धुरा अस्पतालको वार्डमा छिन्। उनी सगैं यात्रा गरिरहेका उनका श्रीमानको अहिलेसम्म खबर छैन। घाइतेको लिष्टमा नाम छैन। केही मृतकको सनाखत हुन बाँकी रहेको छ।

श्रीमान र नावालक बच्चा सँगैं एकै सिटमा रहेकी विमलालाई बस खसेपछि मात्रै थाहा भएको थियो की दुर्घटनामा पर्यौं भन्ने। आफू निदाएको बेला एक्कासी बस तल खसि रहेको थाहा पाएको उनी बताउछिन्। छोराका बाबालाई बोलाउँदा बोलेनन्। ‘छोरा कता खसेको थियो थाहा थिएन। बस खसिरहेको नै थियो उहाँलाई जति बोलाउँदा पनि बोल्नु भएन’ उनले भनिन्।

उनले भनिन्, ‘आफू सडकसम्म हिडेर नै आएको। छोरालाई अरुले नै बोकेर ल्याएका रैछन्। सडकमा पुगेपछि दिए। तर बाबालाई भेटिन।’ अहिले पनि विमला श्रीमानका बारेमा जान्न आफन्त र प्रहरीलाई सोधिरहेकी छन्। आफू सँगै रहेको श्रीमान कुन अस्पताल वा कस्तो अवस्थामा छन् जानकारी पाउन विमला रोई कराई गरिरहेकी छन्।
डडेल्धुरा प्रहरीको अनुमान छ घाइते विमलाका श्रीमान रिफर पनि भएनन। विमलाको अवस्था बुझ्नका लागि डडेल्धुरा अस्पताल पुगेका आफन्तले पनि उनलाई श्रीमानका बारेमा बताई रहेका छैनन्। खुट्टा र कम्मरमा चोट लागेकी विमला भने आफ्ना श्रीमानका बारेमा जानकारी पाउन आतुर छन्।

‘बस बिग्रेकै थियो। हामीलाई गन्तव्य पुग्नु थियो।’ अछाम जानका लागि सोही बसमा आएको अर्का यात्रु विरेन्द्र कार्कीको भनाई छ। ‘बाटो भर बसलाई बनाउँदै चलाउँदै गरिरहेका थिए। हरचनको उकालोमा पनि विस्तारै चडेको थियो तर खोड्पे बजार नआउदै खसि हाल्यो’, उनले भने। कार्कीले भने, ‘चाँडै डडेल्धुराको स्याउले पुगौंला र अछामको गाडी चढौंला भनेर त्यो बस छोडिएन। तर अहिले अर्को बस कुरेको भए सायद सकुसल नै घर पुगिन्थ्यो होला।’

दुर्घटना भएको बसमा डडेल्धुरा, कैलाली कञ्चनपुर, अछामका समेत यात्रु थिए। चाडवाडको समयमा सबैलाई घर जान हतार थियो। गाडि बिग्रेको थाहा पाएपनि टिकट लिइसकेकाले छोड् मनले मानेन। दशाले घेरेको रैछ घाइतेको दुखेसो छ।

कामको सिलसिलामा दार्चुला पुगेका हर्कबहादुर धामी (घाइते) भन्छन , ‘सुरुदेखि नै गाडी बनाइरहेको थियो बाध्यताले चड्यौं। धामी कञ्चनपुरको झलारी जानका लागि गन्नावाट उक्त बस चढेका थिए। दुर्घटनामा घाइते भएका उनी अहिले डडेल्धुरा अस्पतालमा उपचार गरिरहेका छन्।

उनीसँगैं अन्य २९ जना घाइते डडेल्धुरा अस्पतालको वेडमा उपचारको पर्खाइमा रहेका छन्। कसैको टाउको, कम्मर, घाटी, हातखुट्टा र शरिरको अन्यभागमा चोटपटक लागेको छ। भने अन्य सिकिस्त घाइते ८ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *